Kedar Karki

केदार कार्कीको परिचय ::

नेपालमा सङ्घीयताको कार्यान्वयन सँगसँगै प्रदेश नम्बर १ को पहिलो प्रदेश सभामा मोरङको क्षेत्र नम्बर ६ को २ बाट प्रदेश सभामा नेपाली काङ्ग्रेसबाट निर्वाचित नेता हुन् केदार कार्की । प्रदेश सभा सदस्यबाट सुरु भएको उनको संसदीय यात्राको दोस्रो आयाम संसदीय दलको प्रमुख सचेतकको सशक्त भूमिकामा देखियो । तेस्रो र प्रभावकारी आयामका रूपमा कार्की २०७८ कार्तिक देखि प्रदेश नम्बर १ को आन्तरिक मामिला तथा कानुन मन्त्रीको भूमिकामा छन् ।

उनै प्रखर नेता केदार कार्कीको जन्म आमा स्व.ईश्वरी र पिता प्रेमबहादुर कार्कीको कोखबाट २०३० पुस ७ गते भएको हो । उनले स्नातकोत्तर सम्मको शिक्षा हासिल गरेका छन् ।
सानैदेखि निडर तर उपकारी र सहयोगी स्वभावका कार्की विद्यालय कालदेखि नै राजनीतिमा होमिए । उनी आफू पढेको विद्यालय जनता उच्च माध्यमिक विद्यालय मधेसा इनरुवामा २०४४ सालमा नेपाल विद्यार्थी सङ्घको सभापति भए । विद्यालय स्तरको शिक्षापछि उनको उच्च शिक्षा विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट सुरु भयो । उनी यस क्याम्पसमा २०५२ सालमा नेविसङ्घकै क्याम्पस एकाइका सभापति भए । यसपछि उनी नेविसङ्घकै क्षेत्रीय सभापति हुँदै २०५९ सालमा जिल्ला सभापति र २०६३ सालमा केन्द्रीय सदस्यको भूमिकामा रहे । उनी हाल नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा पनि क्रियाशील छन् ।

राजनीतिका साथसाथै नेता कार्की सामाजिक र शैक्षिक गतिविधिमा पनि संलग्न छन् । उनी पूर्वाञ्चल विश्वविद्यालयमा पूर्व सिनेट सदस्य हुन् । जुडो सङ्गठनका मोरङ जिल्ला अध्यक्ष, विभिन्न समाजिक संघसंस्थाका संस्थापक, परिकल्पनाकार सल्लाहकारका रुपमा पनि क्रियाशिल छन् ।

वि.पी.को आदर्शलाई आत्मसात गर्दै राजनीतिमा आघि बढेका कार्की राजनीति भुइँ मान्छेहरुका लागि गरिने कुरामा सधै अडिक छन । राजनीति समस्या देखाउनका लागि नभई समस्या समाधानका लागि गरिने विश्वासको जगमा रहेर कार्कीले कामहरु गरिरहेका छन ।

समाजका सुकुम्बासी, भुईंमान्छे र विपन्न परिवारका लागि अहोरात्र सक्रिय हुने कार्की निरन्तर जनपक्षीय मुद्दाको उठान र तिनको पैरवी गर्ने नेताका रुपका चिनिन्छन् ।
यसै कार्यको नमुना विराटनगर-१२ को सम्पन्न वस्तीको निर्माणबाट स्पष्ट भएको छ । ऋषिदेव समुदायका १४५ परिवारका लागि उनले स्थायी रूपमा घडेरीसहित घरसमेत जोडिदिन सघाएका छन् । उक्त सम्पन्न वस्तीको निर्माण अन्तिम चरणमा छ । विधार्थी राजनीतिदेखि नै शिक्षामा विपन्न परिवारका बालवालिकाको पहुँच हुनुपर्छ भन्ने मुद्दाको उठान गर्ने कार्की शिक्ष नै समृद्धि आधार हो भन्ने गर्दछन ।